काठमाडौँ – झापाका जेनजी अभियान्ताहरूले युवा जेनजी नेता नितेश ओलीलाई अन्तरिम सरकारमा मन्त्री बनाउन सिफारिस गरेका छन् । लामो समय देखि जेनजी युवाहरूको पक्षमा विभिन्न अभियान चलाउँदै आएका ओलीलाई मन्त्री बनाउन दबाब बढिरहेको जेनजी प्रतिनिधिहरू बताउँछन् ।
हालको मन्त्रिपरिषद्मा झापाबाट प्रतिनिधित्व नहुँदा उनलाई पर्यटन मन्त्री बनाउने प्रस्ताव युवाहरूले अघि सारेका हुन्। स्रोतका अनुसार सम्बन्धित निकायसँग छलफल जारी रहेको र उनी मन्त्री बन्ने सम्भावना बलियो बनिरहेको छ ।
पर्यटन क्षेत्रमा लामो अनुभव भएका ओलीलाई युवा पुस्ताले सक्षम, ऊर्जावान र व्यवहारिक नेताको रूपमा अघि सारिरहेका छन्। मन्त्री बन्ने सम्भावना बढेसँगै उनले आफ्नो फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै पदमा पुगेपछि गर्न लागेका योजना समेत सार्वजनिक गरेका छन्।
ओलीका अनुसार, उनले नेपालको पर्यटन क्षेत्रको पुनर्जीवन, रोजगार सिर्जना, स्थानीय पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय लगानी आकर्षणमा जोड दिनेछन्। साथै, उनले जेनजी आन्दोलनका सहिदहरूको सम्मानमा विशेष कार्यक्रम र स्मृति योजना सुरु गर्ने घोषणा पनि गरेका छन्।
उनले भनेका छन्, “यो पद व्यक्तिगत हैसियतको लागि होइन, नयाँ पुस्ताको सपना साकार पार्ने जिम्मेवारीको लागि हो।”



























































