काठमाडौं– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । चितवनले सोमबार कर्णाली याक्सलाई ४ विकेटले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रिएको चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा जित हात पारेको हो ।
चितवनलाई जित दिलाउने क्रममा रवि भोपाराले सर्वाधिक अर्धशतकीय पारी खेले । त्यसत्रलममा उनले ३६ बलमा ३ चौका र ३ छक्काको मदतमा सर्वाधिक ५२ रन बनाए । यस्तै दीपक बोहोराले ३६ बलमा ४२ तथा आक्रामक ब्याटिङ गरेका सेफ जैवले १६ बलमा २ चौका र ५ छक्का ठोक्दै ३८ रन जोडे ।
बलिङतर्फ सोमपाल कामीले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा ३३ रन खर्चिए । यस्तै युनिस विक्रम सिंह, मार्क वाट र युवराज खत्रीले समान १–१ विकेट लिए ।
यसअघि ब्याटिङतर्फ कर्णालीका लागि ओपनर प्रियाङ्क पन्चालले सर्वाधिक ९० रनको योगदान दिए । उनी शतक बनाउनबाट १० रनले चुके । पहिलोपटक एनपिएल खेलिरहेका पञ्चालले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाएका हुन् । यस संस्करणमा अर्थशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् ।
त्यसैगरी कर्णालीका लागि पवन शर्राफले अविजित २७, म्याक्स ओडाउडले २० रन तथा मार्क वाटले २१ बलमा एक चौकाको मद्दतमा १६, तथा नाजिबुल्लाह जद्रानले अविजित चार रन बनाए ।
बलिङतर्फ चितवनका शोहेल तानवीर, सेफ जैव र रवि भोपाराले समान १–१ विकेट लिए । आजै अर्को खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्दैछन् । हिजो भएको उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो ।
एनपीएलमा विभिन्न ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।



























































