काठमाडौँ – नेकपा एमालेका महासचिव शंखर पोखरेलले राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्ने पात्रहरुलाई बिजेताका रुपमा चित्रण गर्न खोजिएको बताएका छन् ।
मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा बसेको विघटित संसदको नेकपा एमाले संसदीय दलको बैठकमा महासचिव पोखरेलले जेनजी आन्दोलनका क्रममा राष्ट्रविरुद्ध ठूलो षडयन्त्र भएको भन्दै त्यसमा संलग्न पात्रहरुलाई राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्नेमा बिजेताका रुपमा चित्रण गर्न खोजिएको बताएका हुन् ।
उनले योजनाकारहरुलाई कडा कारवाही गर्नुपर्नेमा राज्यले उत्मुक्ति दिनेतर्फ अघि बढेको भन्दै गम्भीर असहमति रहेको उल्लेख गरे ।
संविधानले नचिनेको प्रधानमन्त्रीले संसद विघटन गरेकोले यो पहिलो दृष्टिमै गलत रहेको भन्दै त्यसलाई सच्चाउनुपर्ने एमालेको मुख्य माग रहेको उनले बताए ।
उनले वर्तमान सरकारले कुनैपनि हालतमा निर्वाचन गर्न नसक्ने दाबी गरे । महासचिव पोखरेलले आन्दोलनमार्फत पार्टीको एजेन्डा जनतामाझ स्थापित गर्दै एमालेलाई सबल शक्तिका रूपमा उभ्याउनु आवश्यक रहेको धारणा राखे ।



























































