काठमाडौँ – विपद्पछिको कनेक्टिभिटीलाई सुदृढ गर्दै भारतद्वारा नेपालको हेटौंडामा ७०–मिटर लामो मोड्युलर पुल तथा पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरु हस्तान्तरण गरेको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार हेटौंडामा आयोजित एक समारोहबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ७०–मिटर लामो मोड्युलर पुलको पूर्ण सेट र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरु हस्तान्तरण गरेका हुन् ।
गत अक्टोबरमा आएको विनाशकारी वर्षाले क्षति पुर्याएपछि भारतले १० ठाउँमा ७०–मिटर लामो र अग्ला स्प्यान पुलहरु प्रदान गर्ने भारतीय राजदूतावासले जनाएको छ ।
नेपाली रुपैयाँ ७३ करोडभन्दा बढी मूल्यका दशवटा बेली ब्रिजहरु भारतले अनुदानको आधारमा प्रदान गरिरहेको छ ।
आज हस्तान्तरण गरिएको मोड्युलर पुललाई तुरुन्तै रामेछापमा जडानका लागि पठाइनेछ गत अक्टोबरमा भारी वर्षा पछि सडक कनेक्टिभिटी प्रभावित भएको थियो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले भारतको निरन्तर र महत्वपूर्ण सहयोगप्रति कृतज्ञता व्यक्त गरे। उनले छिटो जडान गर्न सकिने यस्ता पुलहरु तथा पुल जडान गर्न प्रयोग हुने उपकरणहरुको उपलब्धता आपतकालीन पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउन अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे । उनले पुल छिट्टै सञ्चालनमा ल्याइने आश्वासन पनि दिए ।
राजदूत श्रीवास्तवले मोड्युलर पुल र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरुको आपूर्ति भारत–नेपाल सम्बन्धलाई परिभाषित गर्ने मित्रताको दिगो सम्बन्धको शक्तिशाली प्रमाण भएको बताए । उनले नेपालको पूर्वाधार विकास र विपद्पछिको पुनर्निर्माण प्रयासहरुका लागि सबै सम्भव सहयोग उपलब्ध गराउने भारत सरकारको नीतिलाई पुष्टि गरेको बताए ।
गत वर्ष सन् २०२४ सेप्टेम्बरमा आएको बाढी र पहिरोपछि भारत सरकारले नेपाली रुपैयाँ ४१ करोड बराबरका १० वटा प्री–फ्याब्रिकेटेड स्टील ब्रिजहरु उपलब्ध गराएको थियो जस मध्ये ४ वटा जडान भइसकेका छन् ।



























































