काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । लुम्बिनीले बिहीबार चितवन राइनोजलाई ६ विकेटले हराएको हो । यता पहिलो खेलमा जित हात पारेको चितवनले दोस्रो खेलमा हार व्यहोरेको हो ।


ADVERTISEMENT


काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


लुम्बिनीलाई जित दिलाउन गुलबादिन नैवले सर्वाधिक नटआउट ४३ रन बनाए । त्यसक्रममा आक्रामक ब्याटिङ गरेका उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले ४४ बलमा ३९ तथा सन्दीप जोराले १८ बलमा २८ रनको योगदान दिए ।

बलिङतर्फ चितवनका लागि रिजन ढकालले २ विकेट लिए भने शोहेल तानवीरले १ विकेट हात पारे । यसअघि चितवनका लागि ब्याटिङतर्फ रवि भोपाराले सर्वाधिक ६६ रन बनाए । सोक्रममा उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै कप्तान कुशल मल्लले १८ बलमा १ छक्कासहित २१, सेफ जैवले ७ बलमा २ चौका र ५ छक्कासहित १५ रन बनाए भने देव खनालले १४ तथा दीपक बोहोराले १० रन जोडे ।

बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलमेनले सर्वाधिक ३ विकेट लिए । सोक्रममा उनले ४ ओभरमा २३ रन खर्चिए । यस्तै अविशेष गौतम र गुलबादिन नैवले समान २–२ विकेट लिए ।

एनपीएल अन्तर्गत भोलि सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच हुँदैछ ।