सुनसरी — सुनसरीको रामधुनी नगरपालिका–२ का ४५ वर्षीय सिटी रिक्सा चालक दिनेश कुमार चौधरीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीहरूलाई सार्वजनिक गरेको हो।
असोज २५ गते बेलुकी करिब ५ः२० बजे रामधुनी–२, कर्मनिया टोलस्थित भित्री सडकमा अपरिचित व्यक्तिहरूले गोली प्रहार गरी चौधरीको हत्या गरेका थिए। घटनापछि प्रहरीले सुरु गरेको अनुसन्धानको क्रममा योजनाबद्ध रूपमा हत्या गर गरिएको पुष्टी भएको बताइएको छ।
पक्राउ परेका व्यक्तिहरूमा रामधुनी–१ का ४३ वर्षीय राजकिशोर साह, ४० वर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह–५ का ३४ वर्षीय मोहमद इब्रान मिया,
देवाङगंज–४ का ३७ वर्षीय गियास मन्सुरी, देवाङगंज–५ का २५ वर्षीय मिथलेश यादव, सप्तरी, राजविराज–१६ का २८ वर्षीय अंकित साह, राजविराज–९ का २८ वर्षीय प्रिन्स कुमार दास रहेका छन्।
प्रहरीका अनुसार मृतक चौधरीले तन्त्र मन्त्र गरेर परिवारका सदस्यहरूलाई दीर्घकालीन रूपमा बिरामी बनाएको आरोप लगाउँदै राजकिशोर साह र नन्द किशोर साहले योजनाबद्ध रूपमा हत्या गराउन इब्रान मिया सहितका व्यक्तिहरूलाई रकम दिएको खुलेको छ।
घटनामा संलग्न पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मंसिर १७ गते सुनसरी जिल्ला अदालतबाट म्याद थप भइसकेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।



























































