काठमाडौं- उद्योगमन्त्री गौरीकुमारी यादवले मुलुकका सबै एलपी ग्यास उद्योग बन्द गर्नुपर्ने र उद्योगहरूको लाइसेन्स खारेज गर्नुपर्ने अभिव्यक्ति दिएपछि ग्यास व्यवसायी र सरकारबीच तनाव बढ्ने देखिएको छ।


ADVERTISEMENT


मन्त्रीको अभिव्यक्तिपछि एलपी ग्यास उद्योग संघ नेपालले औपचारिक रूपमा असन्तुष्टि जनाएको छ। संघका अध्यक्ष दिवान चन्दले उद्योग सञ्चालन गरिरहेका व्यवसायीलाई नै लक्षित गरेर अमर्यादित शब्द प्रयोग गरिएको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गरेका छन्।


ADVERTISEMENT

# # #


चन्दले मन्त्रीको भनाइबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकेको बताएका छन्। उद्योगीहरूको प्रश्न छ—यदि ग्यास उद्योग नै बन्द गर्नुपर्ने अवस्था हो भने त्यसको स्पष्ट आधार, नीति र सरकारी निर्णय के हो?

व्यवसायीहरूले सरकारले कुनै उद्योग वा व्यवसायमाथि गम्भीर प्रश्न उठाउँदा तथ्य, कानुनी आधार र नियमनको विषय स्पष्ट पार्नुपर्ने बताएका छन्। उनीहरूले मन्त्रीको अभिव्यक्तिले निजी क्षेत्रको लगानी र व्यवसायिक वातावरणमाथि नकारात्मक सन्देश गएको दाबी गरेका छन्।

उद्योगीहरूले तत्काल अभिव्यक्ति नसच्याए सामूहिक रूपमा कडा कदम चाल्ने चेतावनी दिएका छन्। यसले ग्यास उद्योग र सरकारबीचको विवाद थप चर्किन सक्ने संकेत देखिएको छ।

अब विवाद केवल मन्त्रीको एउटा अभिव्यक्तिमा सीमित रहने वा सरकारले नै ग्यास उद्योगको भविष्यबारे नयाँ नीति ल्याउने भन्ने विषयमा समेत चासो बढेको छ।