काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाधलीरहित वातावरणमा सम्पन्न गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।
सोमबार काठमाडौंमा आयोजित आइकन अवार्ड समारोहमा बोल्दै भण्डारीले भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दै भएको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताएकी हुन् । राजनीतिक दल, नागरिक समाज र सरोकारवाला सवैले निर्वाचन सफल बनाउन भूमिका खेल्नुपर्ने उनले बताइन् ।
उनले निष्पक्ष निर्वाचनले सवै नागरिकको भावनालाई प्रतिविम्वित गर्ने धारणा राखिन् । त्यस्तै भण्डारीले राज्यका विभिन्न तहमा पुगेर महिलाहरुले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरेको धेरै उदाहरण रहेकाले महिलाहरुको प्रतिनिधित्वलाई विशेष ख्याल राख्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा विभिन्न स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई सम्मानका साथै अवार्ड वितरण गरिएको थियो ।



























































