काठमाडौं– बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले वेद ज्ञान र विज्ञानले भरिपूर्ण ग्रन्थ भएको बताए ।
श्री ब्रमेश्वर वेद विद्याश्रम गुरुकुल पञ्चकन्या, नुवाकोटद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका मुख्यमन्त्री बानियाँले ज्ञानलाई व्यवहारिक विज्ञानमा रूपान्तरण गर्न आवश्यक रहेको बताए ।
वेद स्वयं वैज्ञानिक भएको र यसले ज्ञानसँगै विज्ञानको उत्पादन गर्ने उनको भनाइ थियो । हामीले यसको सही सदुपयोग गर्न नसक्दा पश्चिमी मुलुकहरूले यसको प्रयोग गरेर अगाडि बढेको उल्लेख गरे ।
वेद लोप हुने अवस्थामा पुगेको भन्दै उनले वेद विद्याश्रमलाई व्यवस्थित गर्न बागमती प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रविधि र प्राविधिक विकासका लागि ज्ञान अनिवार्य रहेको र त्यो ज्ञान पूर्वीय दर्शन तथा वेद अध्ययनबाट प्राप्त हुने उनले स्पष्ट पारे ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारले शिक्षा नीति निर्माणको क्रममा आध्यात्मिक शिक्षालाई प्राचीन सभ्यतासँग जोड्दै आधुनिक वैज्ञानिक दृष्टिकोणसँग समायोजन गर्ने तयारी गरिरहेको जानकारी दिए । वेद विद्याश्रमको भवन निर्माण, आवश्यक शिक्षक दरबन्दी तथा अनुदानको व्यवस्था समेत गरिने र आगामी बजेटमा विशेष प्राथमिकताका साथ लगानी गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।
धर्म र कर्मबारे चर्चा गर्दै मुख्यमन्त्री बानियाँले कर्म नै सत्य भएको र कर्ममा आधारित धर्म अवलम्बन गर्नुपर्ने धारणा राखे । सत्यमा आधारित कर्म धर्म हुने र असत्यमा आधारित कर्म कुकर्म हुने उनको भनाइ थियो । राज्य सञ्चालनसमेत कर्ममा आधारित धर्मबाट हुनुपर्ने उनले उल्लेख गरे।
कार्यक्रममा वेद विद्याश्रमका पदाधिकारी, गुरुजन, विद्यार्थी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।





























































