काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रीत भएर सरकारले काम गरिरहेको बताएकी छन् ।
ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले जेनजीको भावना अनुसार मुलुकमा सुशासन कायम गर्न र जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न निर्वाचन गर्न ध्यान दिएको बताएकी हुन् ।
आगामी फागुन २१ गते निर्धारित समयभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ अहोरात्र खटेर तयारीका काम भइरहेको उनले जानकारी दिइन् ।
उनले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह समेत गरिन् । प्रधानमन्त्री कार्कीले मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन निर्वाचन बाहेकको विकल्प नरहेको जिकिर गरिन् ।
उनले समाजमा शान्ति कायम गरी सुशासनयुक्त राष्ट्र निर्माणमा हातेमालो गर्न आह्वान समेत गरिन् । नागरिकको नजिकको सरकार स्थानीय सरकार भएकाले आफ्नो भूमिकालाई जवाफदेही बनाउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले पाटन आफैंमा नेपाली सभ्यता र सौन्दर्यताको जीवित संग्रहालय भएको भन्दै सम्पदा जगेर्नामा जोड दिइन् ।
कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन जेनजी लगाएत सवैले सहयोग गर्नुपर्ने बताए । उनले चुनाव हुन दिन्न भन्ने छुट जेनजीलाई नरहेको बताए । आफ्नो दुई कार्यकालमा महानगरभित्र निकै परिवर्तन गर्न सफल भएको भन्दै उनले अहिलेपनि दैनिक रुपमा निरन्तर नयाँ नयाँ काम हुदै आएको जिकिर गरे ।
कार्यक्रममा ललितपुर महानगरलाई सबैभन्दा बढी कर तिर्ने संस्थाका साथै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।



























































