काठमाडौँ – नेकपा एमालेका नेताहरुले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने बताएका छन् । पार्टीको ११ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन भएपनि उनीहरुले आन्तरिक प्रतिष्पर्धाले पार्टीभित्र कुनै असर नपर्ने भन्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाइने बताएका हुन् ।


ADVERTISEMENT


एमालेका नवनिर्वाचित उपाध्यक्ष बिष्णु पौडेलले पार्टीमा लोकतान्त्रिक अभ्यास हुनु स्वभाविक भएको भन्दै यसले पार्टीका कुनै विभाजन नल्याउने बताए । उनले महाधिवेशनपछि पार्टी अझै सशक्त र एकताबद्ध भएर राष्ट्रका समस्या समाधान गर्न अघि बढ्ने बताए । पौडेलले केन्द्रीय कमिटी समेटिन नसकेकाहरुलाई पनि उचित भूमिका दिइने धारणा राखे ।


ADVERTISEMENT

# # #


त्यस्तै नवनिर्वाचित उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टीलाई विधि र पद्धतिमा चलाउदै बलियो ढंगले अघि बढाइने उल्लेख गरे । संगठनात्मक हिसावका साथै कार्यसञ्चालनमा देखिएका समस्यालाई समेत समाधान गर्न ध्यान केन्द्रीत गरिने उनको भनाइ छ । उनले नेतृत्वका लागि प्रतिष्पर्धा भएपनि सिद्धान्त र बिचारमा कुनै मतभेद नरहेको बताए ।

त्यसैगरि नवनिर्वाचित उपाध्यक्ष गोकर्ण बिष्टले विगतका कमजोरीलाई सच्चाउदै जनतालाई विश्वासमा लिएर अघि बढ्ने बताए ।

त्यस्तै नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले पार्टीभित्रको लोकतान्त्रीक अभ्यासलाई बलियो बनाइ सवैको भावना समेटेर अघि बढ्ने बताए । उनले पार्टीभित्रका पक्षधरलाई मापदण्डको आधारमा एकताबद्ध ढंगले समेटेर सुदृढ पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए ।

भट्टराईले ईश्वर पोखरेल, सुरेन्द्र पाण्डेले पार्टीको लोकतान्त्रीक पद्दतीको आवाज उठाएर गरेको साहसको आफुले सदैव सम्मान गर्ने जिकिर गरे ।