काठमाठौँ – गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीले क्षतिग्रस्त बनेको ललितपुरको लेले प्रहरी चौकीको पुनःनिर्मार्ण सम्पन्न भएको छ । गोदावरी नगरपालिका र स्थानीय समुदायको सक्रियतामा प्रहरी चौकीको पुनर्निर्माण सम्पन्न भएको हो ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरेका हुन् । नगरपालिकाको तर्फबाट वडाले ८ लाख ६२ हजार रुपैयाँ तथा स्थानीय समुदाय र संस्थाको चन्दाबाट उक्त चौकीको पुनर्निर्माण गरिएको हो ।
उद्घाटनपछि बोल्दै नगरप्रमुख महर्जनले प्रहरी दुवै पक्षबाट मारमा पर्ने गरेकाले प्रहरी चौकी निशानामा परेको बताए । ‘एकै पटक प्रहरीले पीडक र पीडित पक्षका दुवैले एकैपटक न्याय पाउने अवस्था हुँदैन । जहिल पनि असन्तुष्ट पक्षले प्रहीमाथि नै निशाना बनाउँछ ।’ उनले भने, ‘कहिले पीडक पक्ष उत्तेजित हुन्छ, कहिले पीडित पक्ष उत्तेजित हुन्छ । जसको मारमा सधैँ प्रहरीपर्ने गरेको छ ।’
यस्तै नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष मिलन सिलवालले जेन्जीको नाममा अराजक तत्त्व र समाजमा अपराधिक गतिविधि गर्नेहरूले चौकीहरू तोडफोड गरेको बताए । उनले जेन्जी आन्दोलन समाप्तपछि लेलेचौकी रातको ७ बजे जलाएको भन्दै आक्रोश व्यक्त गरे ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष सिलवाल, नेपाल प्रहरीका एसएसपी होबिन्द्र बोगटी, डीएसपी यमकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।




























































