ओखलढुङ्गा – भारत सरकारको आर्थिक सहयोगमा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका–५ स्थित श्री राज्यलक्ष्मी माध्यमिक विद्यालयमा निर्माण गरिने नयाँ विद्यालय भवनको शिलान्यास गरिएको छ ।
विद्यालय भवनको शिलान्यास आज काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंह र सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले संयुक्त रूपमा गरेको हो । उक्त भवन भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको हो ।
भारत सरकारको ४ करोडभन्दा बढीको आर्थिक सहयोगमा निर्माण हुने यो विद्यालय भवन तीन र आधा तल्लाको हुनेछ । परियोजनाको कार्यान्वयन सिद्धिचरण नगरपालिकामार्फत गरिने जनाइएको छ ।
शिलान्यास कार्यक्रममा सिद्धिचरण नगरपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणका लागि भारत सरकारले प्रदान गरेको सहयोगको प्रशंसा गरेका थिए । नयाँ भवन निर्माणपछि शैक्षिक वातावरण थप सहज र गुणस्तरीय हुने विश्वास व्यक्त गरिएको छ ।
भारत–नेपाल साझेदारी शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत विभिन्न क्षेत्रमा व्यापक तथा बहु–क्षेत्रीय सहकार्यद्वारा चिनिएको छ । यस्तो निरन्तर सहयोग विकास र समृद्धिको दिशामा दुवै देशबीच रहेको गहिरो र मैत्रीपूर्ण सम्बन्धको स्पष्ट प्रतिबिम्ब भएको सहभागीहरूले बताएका छन् ।




























































