काठमाडौं- महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ।
बैंकले शुक्रबार आयोजित एक समारोहबीच सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय ले डिजिटल हबको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैंकका अनुसार डिजिटल बैंकिङ सेवालाई थप आधुनिक, सुरक्षित, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउने उद्देश्यले डिजिटल हब स्थापना गरिएको हो। यहाँ ग्राहकले सहज वातावरणमा नगद जम्मा गर्ने, चेक क्लियरिङ, नगद झिक्ने तथा अन्य डिजिटल बैंकिङ सेवाको अनुभव लिन सक्नेछन्।
बैंकले डिजिटल हबमार्फत डिजिटल बैंकिङसम्बन्धी परामर्श सेवा पनि उपलब्ध गराउने जनाएको छ। विशेषगरी युवापुस्तालाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्दै वित्तीय सेवामा सहज पहुँच विस्तार गर्ने लक्ष्य बैंकको रहेको छ।
नेपाल राष्ट्र बैंकको रेगुलेटरी स्यान्डबक्स (Regulatory Sandbox) अवधारणालाई समेत आत्मसात गर्दै बैंकले आगामी दिनमा नवीन वित्तीय सेवा तथा प्रविधिमैत्री बैंकिङ समाधान विकास गर्ने प्रतिबद्धता जनाएको छ।



























































