काठमाडौं- सरकारले गणेश नेपालीको आत्मदाह प्रयास तथा उपचारका क्रममा भएको निधन सम्बन्धी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा घटनाबारे जानकारी गराउँदै गृहमन्त्री सुधन गुरुङले प्रहरी नायब महानिरीक्षक डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन्।
गृहमन्त्री गुरुङका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन र आवश्यक अनुसन्धानका लागि काठमाडौं महानगर प्रहरीका तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।
उनले सरकारले गणेश नेपालीको जीवन बचाउन कुनै कसर बाँकी नराखेको दाबी गर्दै आवश्यक परे भारतमा उपचारका लागि लैजाने तयारी गरिएको भए पनि चिकित्सकहरूको सल्लाहअनुसार उनको स्वास्थ्य अवस्था स्थानान्तरण गर्न उपयुक्त नभएकाले वीर अस्पतालमै उपचार गरिएको बताएका छन्।
प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री गुरुङले घटनालाई लिएर विपक्षी दलले सरकारमाथि लगाएका आरोपको पनि प्रतिवाद गरेका छन्। उनले आफू प्रचारका लागि राजनीति नगर्ने भन्दै देश र जनताको सेवाबाट पछि नहट्ने बताएका छन्।
गुरुङले उक्त घटना संघीय सरकारको प्रत्यक्ष निर्णयका कारण नभई स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र कानुन कार्यान्वयन गर्ने क्रममा भएको दाबी गरेका छन्। उनले घटनालाई लिएर वर्तमान सरकारमाथि मात्रै आरोप लगाउन नहुने उल्लेख गर्दै गणेश नेपालीले आत्मदाह प्रयास गरेको स्थानीय तहमा कुन दलको नेतृत्वको सरकार रहेको छ भन्ने प्रश्न पनि उठाएका छन्।
गृहमन्त्रीले घटनालाई राजनीतिक विवादको विषय बनाउनुभन्दा सत्यतथ्यका आधारमा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिँदै मुलुक निर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन्।



























































