काठमाडौं । प्राविधिक परीक्षण तथा अनुगमन महाशाखा, राष्ट्रिय सतर्कता केन्द्र सिंहदरबार काठमाडौंद्वारा आयोजित “भ्रष्टाचारविरुद्ध प्राविधिक परीक्षण अन्तरनिकाय समन्वय गोष्ठी” कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कर्मचारीहरूलाई सरुवाको डर नगरी निष्ठापूर्वक काममा ध्यान दिन आग्रह गरे ।
मुख्यमन्त्री बानियाँले सतर्कता केन्द्रले कर्मचारीलाई सचेत र सजग बनाउँदै गलत कार्य न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे । उनले गलत काम नगरेको अवस्थामा कुनै पनि परिस्थितिमा डराउनुपर्ने आवश्यकता नरहेको स्पष्ट पारे ।
उनले सतर्कता केन्द्रको मुख्य उद्देश्य सुशासन कायम गर्नु रहेको बताउँदै खानेपानी, सिँचाइ, सडकलगायत विभिन्न क्षेत्रमा बजेटको सदुपयोग र गुणस्तरीय काम सुनिश्चित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा कार्यरत प्राविधिकहरूले दबाब र प्रभावमा नपरी यथार्थपरक तथा योजनाबद्ध रूपमा काम गर्ने विश्वास व्यक्त गरे । लोभलाभमा परेर गलत कार्य गरे भविष्यमा पुस्तौँसम्म मुद्दा–मामिलाको झन्झट बेहोर्नुपर्ने चेतावनी दिँदै उनले आत्मशुद्धीकरण गरेर काम गर्न आग्रह गरे ।
सतर्कता केन्द्रले कर्मचारीलाई आफ्ना कार्यमा सजग र जिम्मेवार बनाउँदै कमजोरी न्यूनिकरण गरी कार्यसम्पादनमा सुधार ल्याउने विश्वास मुख्यमन्त्री बानियाँले व्यक्त गरे । साथै उनले बागमती प्रदेश सुशासन र पारदर्शिताको दृष्टिले अब्बल प्रदेश बन्न सक्ने दाबी गरे ।
कर्मचारीहरूलाई पर्ने अनावश्यक मानसिक तनाव, सामाजिक दबाबलगायत समस्याहरू प्रमुख सचिवमार्फत आफू समक्ष आउने उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकार प्रमुखको हैसियतमा संरक्षण गर्न आफू तयार रहेको भरोसा दिलाए ।
रुपैयाँको लोभमा परेर सधैं तनावमा बाँच्नुभन्दा शान्तिपूर्वक जीवन बिताउनु नै उत्तम भएको उल्लेख गर्दै उनले बागमती प्रदेश सरकारले इमानदार कर्मचारीमाथि भरोसा राखेको र जिम्मेवारीलाई प्राविधिक तथा नैतिक ढंगले पूरा गरिने अपेक्षा राखेको बताए ।


























































