सुनसरी – आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक ९आईजीपी० राजु अर्यालले नेपाल–भारत सीमा क्षेत्रमा उच्चस्तरीय निरीक्षण गरेका छन् । मंगलबार सुनसरीको कोशी गाउँपालिका–स्थित भ्यान्टाबारी नाकामा गरिएको निरीक्षणको उद्देश्य सीमा सुरक्षालाई थप सुदृढ बनाउनु र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्नु रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
खुला सीमाका कारण निर्वाचनको समयमा चोरी, तस्करी, अवैध आवतजावत तथा अन्य आपराधिक गतिविधि बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए ।


ADVERTISEMENT


निरीक्षणका क्रममा आईजीपी अर्यालले सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी जवानहरूसँग प्रत्यक्ष भेटघाट गर्दै सुरक्षा अवस्था, चुनौती र तयारीबारे जानकारी लिएका थिए । उनले सीमा नाकामा निगरानी बढाउन, नियमित तथा आकस्मिक गस्तीलाई प्रभावकारी बनाउन र कुनै पनि प्रकारको लापरवाही नगरी जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।
विशेषगरी चोरी–तस्करी, लागुऔषध ओसारपसार, अवैध हातहतियार तथा सीमा अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन आईजीपी अर्यालले स्पष्ट निर्देशन दिएका छन् ।


ADVERTISEMENT

# # #


यसै क्रममा भारतको सशस्त्र सीमा बल (एसएसबी) डीआईजी राजेश टिक्कुले आईजीपी अर्याललाई सीमा क्षेत्रमा स्वागत गरेका थिए । दुवै देशका सुरक्षा निकायबीच भएको छलफलमा सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने, सूचना आदान–प्रदान, संयुक्त गस्ती तथा आपसी समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा सहमति भएको छ ।
आईजीपी अर्यालले खुला सीमाका कारण नेपाल र भारत दुवैले समान सुरक्षा चुनौती भोग्दै आएको उल्लेख गर्दै अपराध नियन्त्रणका लागि दुई देशबीचको सहकार्य अपरिहार्य रहेको बताए । आपसी विश्वास र समन्वय बलियो बनाएर मात्रै सीमा अपराध नियन्त्रण सम्भव हुने उनको भनाइ थियो ।
सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रको शान्ति, सुरक्षा र निर्वाचनको स्वच्छ वातावरण सुनिश्चित गर्न यस्ता उच्चस्तरीय निरीक्षण तथा समन्वयात्मक गतिविधिलाई निरन्तरता दिइने जनाएको छ ।