काठमाडौं– आजदेखि सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ ।
बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
साथै बैंकले ८६ लाख १९४ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ। बैंकले दोस्रो चरणमा २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरुलाई सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।
पुस २० गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस ३० गतेसम्म लम्बिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।


























































