काठमाडौं – बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले पृथ्वीमा तीन प्रकारका योग रहेको बताएका छन्।


ADVERTISEMENT


काठमाडौंमा आयोजित संकिर्तन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले कर्मयोग, ज्ञानयोग र भक्तियोगबारे चर्चा गरेका हुन्।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँले कर्म र ज्ञान मात्रै पर्याप्त नभई ती दुवैलाई सन्तुलनमा राख्दै मानिसलाई सबल, शान्त र सहज बनाउने मार्ग नै भक्तियोग भएको उल्लेख गरे। भक्तिमार्गले मानिसलाई संस्कारयुक्त जीवन जिउन सिकाउने उनको भनाइ थियो।

उनले अहिलेको नयाँ पुस्तालाई भक्तिमार्गको आवश्यकता रहेको भन्दै भक्तिमार्गमा लाग्नु भनेको आफैंभित्र शान्ति स्थापना गर्नु भएको बताए। व्यक्तिभित्रको शान्तिले समाजमा पनि शान्ति फैलिने उल्लेख गर्दै उनले व्यवहारिक संस्कारयुक्त ज्ञान र कर्ममा आधारित धर्मको आवश्यकता औंल्याए।

मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारको हैसियतले सत्यमा आधारित सनातन दर्शनलाई व्यापक रूपमा प्रदेशभर प्रवर्द्धन गर्न यस्ता कार्यक्रम तथा भक्तिमार्गसँग सम्बन्धित आध्यात्मिक गतिविधिहरूलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनले मठ–मन्दिर आस्थाको प्रतीक भएको उल्लेख गर्दै धर्म व्यक्तिले धारण गर्ने विषय भएको बताए। कर्मलाई आधार मानेर धर्मको अभ्यास गरिए भविष्यमा राम्रो यात्राको सुरुवात हुने उनको भनाइ थियो।

आध्यात्मिक सिद्धान्तसहितको भौतिकवाद आजको आवश्यकता रहेको भन्दै उनले यसलाई उत्कृष्ट र सफल बनाउन सबै लाग्नुपर्ने धारणा व्यक्त गरे।