काठमाडौँ – विशेष अदालतले पूर्वमन्त्री तथा नेकपा एमालेका नेता राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ ।
बुधबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पोखराको लिची बारी भ्रष्टाचार प्रकरणमा अदालतले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।
यसअघि ओली सरकारको सामान्य प्रशासन मन्त्री हुँदा गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरूवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट घुस लिएको अडियो बाहिरिएको थियो । अडियो बाहिरिएसँगै उनले गत असार ३१ गते मन्त्रीपदबाट राजीनामा दिएका थिए ।
त्यसपछि ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत असोज २२ गते मन्त्री गुप्तासहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।


























































