काठमाडौँ – राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता भएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । कार्यक्रममा लिङ्देन र थापाले एकीकरणसम्बन्धी ६ बुँदे आधारपत्रमा हस्तक्षर गरेका थिए । एकीकरणसम्बन्धी आधारपत्रमा पूर्ण धार्मिक स्वतन्त्रसहितको सनातन धर्म सापेक्ष हिन्दुअधिराज्य राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त मार्ग दर्शन हुने उल्लेख छ ।
त्यस्तै राप्रपाका अध्यक्ष लिङ्देन पार्टीको अध्यक्ष रहने, राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएर पछि राप्रपा नेपाल रोजेकाहरुलाई सोही जिम्मेवारीमा फर्काइने उल्लेख छ । एकता घोषणा कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका अग्रजहरु संगै आएसंगै अव पार्टी थप बलियो हुने बताए । उनले कमल थापा नहुदाको राप्रपा सदैव अपूर्णजस्तो लाग्ने गरेको भन्दै अब मनमा रहेको एक प्रकारको रिक्तता हटेर गएको उल्लेख गरे ।
पार्टी एक्लैले नभई सबै मिलेर चलाउने भएकाले राप्रपा नेपालबाट आएका कुनै पनि सदस्यहरुले अन्यथा लिन नहुने उनले बताए । लिङ्देनले सिद्धान्त र विचार स्पष्ट नभइ केही नयाँ भनिने दलहरुले एकताका नाममा प्रधानमन्त्री पदको दलाली गरेको टिप्पणी गरे ।
पुराना दलहरुलाई समेत जनताले विश्वास नगरेको अवस्थामा विचारमा स्पष्ट र बिचलित पार्टी राप्रपा बाहेक अरु कोही नरहेको उनको भनाइ छ ।
त्यस्तै राप्रपाका फर्किका नेता कमल थापाले दुई पार्टीबीच एकता भनिएपनि पुनर्मिलन जस्तै भएको बताए । आफूले पनि रगतपसिना बगाएर बनाएको घर फर्किदाको जस्तो अनुभूति आफुलाई भएको उनले बताए । उनले पार्टीका मुद्दा स्थापित गर्न आन्दोलन बाहेकको अरु कुनै विकल्प नरहेको धारणा राखे ।
दुईपार्टीबीच एकताको आधारपत्रमा २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशन हुँदाका बखत कायम रहेका वडा, गाउँ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरुलाई तत् तत् जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिने सहमति भएको छ भने राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरुलाई राप्रपाको सम्बन्धीत भातृसंगठनहरुमा सम्मानजनक ढंगले समायोजन गर्ने सहमति भएको छ ।
चार बर्षअघि भएको महाधिवेशनमा राप्रपाको अध्यक्ष पदमा लिङ्देनसंग पराजित भएपछि थापाले पार्टी छाडेर राप्रपा नेपाल गठन गरेका थिए ।


























































