काठमाडौैँ – प्रधानमन्त्री सुशीला कार्कीसँग मधेस प्रदेश प्रदेश प्रमुख सुरेन्द्र लाभले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा विविध समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री कार्कीले प्रदेश प्रमुख लाभलाई प्रदेशको राजनीतिक समस्या समाधानका क्रममा अभिभावकका रुपमा प्रभावकारी भूमिका खेल्न सफल भएको भन्दै प्रशंसा गरिन् ।
साथै पछिल्ला दिनमा मधेसमा देखिएको सामाजिक समस्या समाधानमा पनि यस्तै भूमिका खेल्न आग्रह पनि गरिन् । आउँदो फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा यसबीचमा आउन सक्ने सम्भावित चुनौतीहरुतर्फ पनि सतर्क हुनुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।
प्रदेश प्रमुख लाभले पनि प्रदेशको शान्ति सुव्यवस्था कायम राख्न आफ्नो तर्फबाट प्रयास गरिरहेको र सुरक्षा तथा प्रशासनिक संयन्त्र परिचालित भइरहेको जानकारी दिए । प्रदेश प्रमुख लाभले भेटका अवसरमा आफूले पदभार सम्हालेपछिका दुई महिनाको अवधिमा गरेका कामका बारेमा जानकारी गराएका थिए ।































































