काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम प्रदेशको चुनावी अभियानमा सक्रिय छन्। तराईका कैलाली र कञ्चनपुरमा चुनावी कार्यक्रम सकेपछि उनी बुधबार बिहानै पहाडी जिल्ला डडेलधुरातर्फ प्रस्थान गरेका हुन्।
पहाड उक्लिने क्रममा मौसम प्रतिकूल बनेको छ। डडेलधुरा पुग्दा बाटोमा हिउँसमेत परिरहेको देखिएको छ। कठिन मौसमका बाबजुद बालेनले सुदूरपश्चिम यात्रालाई निरन्तरता दिएका छन्।
यात्राका क्रममा बालेनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै डोटेली भाषामा भाव व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई।’ स्थानीय भाषामा गरिएको उक्त अभिव्यक्तिले सुदूरपश्चिमप्रतिको आत्मीयता झल्काएको छ।
यसैबीच बालेनसँगै गएका समर्थकहरूले डडेलधुराको साहुखर्कमा उनले खिर खाएको तस्बिर पनि सार्वजनिक गरेका छन्। स्थानीय परिकारको स्वाद लिँदै बालेनले स्थानीय जनतासँग नजिकिने प्रयास गरेको समर्थकहरूको भनाइ छ।



























































