काठमाडौं – झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन शाह घरदैलो अभियानमा सक्रिय देखिएका छन्। उनले स्थानीय बासिन्दाको आँगनमै पुगेर जनताका समस्या, गुनासा र अपेक्षाहरू ध्यानपूर्वक सुन्दै आत्मीय संवाद गरेका छन्।
भाषणमुखी राजनीतिभन्दा जनताको कुरा सुन्ने र बुझ्ने शैलीलाई प्राथमिकता दिएका बालेनको यस अभियानले झापा–५ मा जनकेन्द्रित र भरोसामा आधारित नेतृत्वको सशक्त सन्देश दिएको छ।
घरदैलो अभियानकै क्रममा बालेन शाह झापाको कमल गाउँपालिका स्थित सुकुम्बासी बस्तीमा पुगेर स्थानीय सुकुम्बासीहरूसँग प्रत्यक्ष कुराकानी गरेका थिए। सो अवसरमा उनले काठमाडौंमा खोला आसपास बसोबास गर्ने सुकुम्बासीहरूलाई बाढीको जोखिमबाट जोगाउन व्यवस्थापन गर्न खोजिएको स्पष्ट पारे।
झापाका सुकुम्बासीहरूलाई हटाउने कुनै योजना नरहेको बताउँदै उनले लामो समयदेखि देखिँदै आएको सुकुम्बासी समस्याको दीर्घकालीन र दिगो समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय बासिन्दाहरूले पनि बालेन शाहको सहज, सरल र संवेदनशील व्यवहारप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। जनताको घरआँगनमै पुगेर समस्या सुन्ने नेताको शैलीले आफूहरूलाई आशा र भरोसा बढाएको उनीहरूको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले झापा–५ मा जनताको वास्तविक समस्यामा केन्द्रित रहेर राजनीति गर्ने नीति अघि सारेको छ। बालेन शाहको यो घरदैलो अभियानले आगामी दिनमा झापा–५ को राजनीतिक माहोल थप सक्रिय र जनमुखी बन्ने अपेक्षा गरिएको छ।



























































