काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेकपासंग तालमेलको सम्भावना नरहेको बताएका छन् ।
प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले भाद्र २३ र २४ को घटनामा एमाले र नेकपाको दृष्टिकोण नै फरक रहेकाले निर्वाचनमा तालमेल हुन नसक्ने बताएका हुन् । अहिले कांग्रेसले पनि एक्लै चुनाव लड्ने भनिरहेको अवस्थामा एमाले एक्लै चूनावी प्रतिष्पर्धामा उत्रने उनले बताए । गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति एमाले र कांग्रेसजति प्रतिबद्ध नेकपा नभएको तर्क गरे ।
अराजकता, अस्थीरता र प्रतिगमन सच्चाउनका लागि एमाले लाग्ने भएकाले केहिस्थानमा सातोतिनो सहकार्य हुन सक्ने उनले बताए । त्यस्तै उपाध्यक्ष गुरुङले केही पार्टी र व्यक्तिले आफूलाई नयाँ अरुलाई पुराना भनेर आरोप लगाउने गरेको भन्दै उनीहरुसंग कुनै एजेण्डा नै नरहेको धारणा राखे ।
कसैले आरोप लगाउदैमा लामो ईतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उनको भनाइ छ । उनले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी समेत गरे ।



























































