काठमाडौँ – भारत र श्रीलंकामा यही फेब्रुअरीदेखि सुरु हुने आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो अभ्यास खेलमा पनि नेपालले जित हात पारेको छ । बिहीबार भएको खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको हो ।
भारतको चेन्नईस्थित एमएए चिदाम्बरम रंगशालामा टस हारेर जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनायो । जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै जित पारेको हो ।
नेपालको जितका लागि ओपनर आशिफ शेखले शानदार ब्याटिङ गरे । त्यसक्रममा रिटायर्ड आउट हुनुअघि उनले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले ३० बलमा ४ चौका र १ छक्काको मदतमा ४४ रन बनाउँदा गुल्शन झाले २५ बलमा ५ चौकाको मदतमा नटआउट ३१ रन बनाए । दीपेन्द्रसिंह ऐरी ९ रनमा नटआउट रहे ।
कुशल भुर्तेलले १२ र लोकेश बमले ५ रन हाने । बलिङतर्फ क्यानडाका जसकरन सिंह, साद बिन जफार र अजयवीर हुन्डालले समान १–१ विकेट हात पारे । यसअघि ब्याटिङतर्फ क्यानडाका नवनित धलिवालले ३६ बलमा १ चौका र ३ छक्कासहित ४१ रन जोडे भने श्रेयस मोभाले सर्वाधिक ३८ रन हाने आक्रामक ब्याटिङ गरेका उनले १९ बलमा २ चौका ३ छक्का ठोक्दै नटआउट ३८ रन बनाए । यस्तै कानवरपल टथगुरले २५ तथा जसकरन सिंहले २१ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २–२ विकेट लिए । त्यसक्रममा सन्दीपले ४ ओभरमा १४ र कुशलले ३ ओभरमा २६ रन खर्चिए । यस्तै नन्दन यादव र सोमपाल कामीका नाममा समान १–१ विकेट रह्यो । यसअघि नेपालले पहिलो अभ्यास खेलमा युएईलाई मंगलबार ७ विकेटले हराएको थियो ।
टी–२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल आइतबार इंग्ल्याण्डसँग खेल्नेछ ।



























































