काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि बढाउनुपर्ने बताएकी छन् ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारमा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन कार्यक्रममा प्रधानमन्त्री कार्कीले ध्वंसमा नभई शान्तिमा मात्रै देशको विकास हुने भन्दै राष्ट्रप्रतिको भावनाका साथ एकताबद्ध भएर मुलुकमा शान्ति कायम गर्नुपर्ने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


उनले सात सालदेखि जनेजी आन्दोलनसम्म आइपुग्दा मुलुकको परिवर्तनका लागि भएको आन्दोलनलाई आत्मसात गर्दै लोकतन्त्रको बाटोमा देशलाई अघि बढाउनुपर्नेमा जोड दिइन् ।

पछिल्लो समय भएको घटनाक्रमलाई हेर्दा युवाहरुको चाहना अनुसार मुलुकमा परिवर्तन ल्याउनुपर्ने महसुस सबैले गरेको उनको भनाई छ ।

प्रधानमन्त्री कार्कीले आगामी पुस्ताहरुले परिवर्तनका लागि अर्को लडाई लड्नु नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताइन् ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । वि.सं. २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाइन्छ ।