भक्तपुर  – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले पत्रकारले देश र जनताका पक्षमा उभिएर निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनुपर्ने बताएको छ ।


ADVERTISEMENT


आज भक्तपुरमा रफत सञ्चार क्लबको १६औँ वार्षिकोत्सव कार्यक्रममा उनले भने, “पत्रकारले देश र जनताको पक्षमा बोल्न र लेख्न हिच्किचाउन हुँदैन, देश र जनताको पक्षमा उभिएर निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनुपर्छ । पत्रकार कुनै न कुनै राजनीतिक दलमा आबद्ध हुन्छन् तर समाचार निष्पक्ष हुनुपर्छ, दल देखिनु हुँदैन ।”


ADVERTISEMENT

# # #


अध्यक्ष बिजुक्छेँले आफूले राजनीतिक जीवन सुरु गर्दाका बेलामा आफूले समीक्षा साप्ताहिकमा आर्थिक विषयमा समाचार लेख्दा सम्पादक मदनमणि दीक्षितले दिएको प्रेरणास्पद क्षण स्मरण गरे । पत्रकारहरूले संसारका सामाजिक, आर्थिक र राजनीतिक क्रान्तिका विषयमा उजागर गर्ने गरेको स्मरण गर्दै अध्यक्ष बिजुक्छेँले आफू पत्रकारिता क्षेत्रमा रहँदा राजनीतिक दलको गतिविधि रिर्पोटिङ गर्न जाँदा तत्कालीन समयमा प्रहरीको लाठी प्रहार सहनुपरेको बताए । “पत्रकारले इमान्दार भएर आफ्नो कर्तव्य पूरा गरेमा समाजलाई सुदृढ गर्न सकिन्छ”, उनले भने ।

अध्यक्ष बिजुक्छेँले पत्रकारहरूले नै रुसी क्रान्ति, दोस्रो विश्वयुद्धमा खसालिएको आणविक बमको असरको यथार्थ स्थितिको प्रकाश पारेर संसारलाई जानकारी गराएको उल्लेख गरे ।

कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले शिक्षा र स्वास्थ्य क्षेत्रको समस्याको पहिचान र त्यसको निदानका लागि पत्रकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले रफत सञ्चार क्लबले जनताका हक र अधिकार स्थापना गर्नेमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।