हेटौँडा – युनाइटेड मिक्स्ड मार्शल आर्ट्स एसोसिएसन अफ नेपालको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय एमएमए फाइट च्याम्पियनशिप कार्यक्रम बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले आफूले युनाइटेड मिक्स्ड मार्शल आर्ट्स खेल पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन गरेको बताउँदै मार्शल आर्ट्स अन्तर्गतका खेलहरू जोखिमयुक्त भए पनि अनुशासन, मर्यादा र नैतिकतासँग जोडिएको खेल भएको उल्लेख गरे। नेपाल र भारतका खेलाडीहरूको सहभागिताले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी आत्मीयता थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारले युनाइटेड मार्शल आर्ट्स खेललाई अहिले र आगामी दिनमा पनि आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै भविष्यमा विभिन्न देशहरूसँग बागमती प्रदेशको राजधानी हेटौँडामा यस्ता अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्न विशेष बजेटको व्यवस्था गरिने बताए।
उनले बागमती प्रदेशको खेल महोत्सवलाई प्रदेशस्तरीय बनाउने योजना रहेको जानकारी दिँदै प्रदेशका ११९ वटै पालिकाको सहभागिता रहने र सबै विधाका खेल समेटिने बताए।
युवाहरूलाई शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त बनाउन खेलकुदमा जोड्न आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले शारीरिक र मानसिक रूपमा सक्षम व्यक्ति नै राजनीतिमा पनि सफल हुने धारणा व्यक्त गरे। खेल अनुशासन, मर्यादा र नैतिकतासँग जोडिएको क्षेत्र भएकाले खेलकुदमार्फत नैतिक शिक्षाको पनि आवश्यकता रहेको उनले बताए।
“नैतिकता बिना न खेल चल्छ, न देश चल्छ, न त राजनीति नै चल्छ,” भन्दै उनले नैतिकता बिना समाज अगाडि बढ्न नसक्ने स्पष्ट पारे।




























































