काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले सत्तारुढ दल तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संघीयतासम्बन्धी अघि सारेको पछिल्लो प्रस्ताव अवसरवादी र असान्दर्भिक भएको बताएका छन्।


ADVERTISEMENT


आइतबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै पुनले रास्वपाको पछिल्लो राजनीतिक धारणा जनमतको अपमान भएको टिप्पणी गरेका छन्। उनले निर्वाचनका बेला र विभिन्न प्रदेशमा पुगेर संघीयतालाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको रास्वपाले अहिले महाधिवेशनमार्फत प्रदेश संरचना खारेजीको प्रस्ताव अघि सार्नु जनताप्रतिको विश्वासघात भएको बताएका छन्।


ADVERTISEMENT

# # #


पुनले रास्वपाभित्र नै वैचारिक स्पष्टताको अभाव रहेको दाबी गर्दै सभापतिको प्रस्तावमा संविधान र संघीयताप्रति प्रतिबद्धता देखिए पनि उपसभापतिको प्रस्तावमा प्रदेश सभा खारेजीको विषय समेटिनुले पार्टीभित्र दुई फरक वैचारिक धार देखिएको बताए। यस्तो अवस्थाले पार्टीको नीति र दृष्टिकोणमा असंगति तथा अपरिपक्वता झल्किएको उनको भनाइ छ।

उनले संघीयता र लोकतन्त्र हजारौं नेपालीको बलिदानबाट स्थापित व्यवस्था भएकाले त्यसमाथि राजनीतिक प्रयोग गर्न नहुने चेतावनी दिएका छन्। नयाँ राजनीतिक संस्कारको दाबी गर्ने रास्वपाले आफ्ना केही अभिव्यक्ति र व्यवहारमार्फत अपरिपक्वता तथा लोकप्रियतावाद मात्र प्रदर्शन गरेको आरोप पनि उनले लगाएका छन्।