झापा- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले आर्थिक समृद्धि, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनालाई सरकारको पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
बिर्तामोड उद्योग वाणिज्य संघको आठौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले स्थायी सरकार बनेको अवस्थामा आर्थिक विकासलाई तीव्रता दिन निजी क्षेत्रसँग सहकार्य, लगानीमैत्री वातावरण निर्माण र सुशासनमा जोड दिएका छन्। उनले युवाको वैदेशिक पलायन रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखेका छन्।
वैद्यले अनावश्यक प्रशासनिक झन्झट र अवरोध हटाई व्यवसायमैत्री वातावरण निर्माण गर्न आग्रह गर्दै विकास निर्माणमा पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन्।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका पदाधिकारी, पूर्वअध्यक्ष, स्थानीय उद्योगी–व्यवसायी तथा सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा दुई जना व्यवसायी र दुई जना पत्रकारलाई सम्मान समेत गरिएको छ।



























































