हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले निर्वाचनलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्।


ADVERTISEMENT


निर्वाचनसँग जोडिएको राजनीतिक दलहरूको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै उनले निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। आफू बागमती प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित हुँदा निर्वाचनसम्बन्धी कुनै पनि आचारसंहिता उल्लंघन नगरेको उल्लेख गर्दै उनले आचारसंहिता पालना गरिनुपर्नेमा जोड दिए।


ADVERTISEMENT

# # #


उनले २०४६ सालको राजनीतिक परिवर्तनपछि राजासहितको प्रजातन्त्र आएको समय स्मरण गर्दै त्यसबेला निर्वाचन आचारसंहिता पालना गर्दा प्रक्रिया सहज बनेको बताए। त्यस्तै २०६२र६३ को आन्दोलनपछिको परिस्थितिमा राजनीतिक दलहरू कमजोर अवस्थामा रहेकाले पनि निर्वाचन सहज भएको उनको भनाइ थियो।

हालको निर्वाचनमा भने सुरक्षा निकायका लागि चुनौती बढेको उनले बताए। निर्वाचन चाहने र नचाहने पक्षबीच ठूलो अन्तर देखिएको उल्लेख गर्दै विभिन्न स्थानमा बम राखिएको सूचना प्राप्त भएको जानकारी दिए।

निर्वाचन सफल बनाउन सरकार, निर्वाचन आयोग तथा सबै प्रदेश सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ। तीनै तहका सरकारको सहअस्तित्व रहेको उल्लेख गर्दै प्रदेश सरकार पूर्ण रूपमा सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे।

मुख्यमन्त्री बानियाँले कसैको दबाब वा प्रभावमा नभई स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गरे। निर्वाचन अवश्य हुने र त्यसका लागि प्रदेश सरकारको साथ र सहयोग रहने उनले बताए।