काठमाडौँ – जाँचबुझ आयोगको प्रतिवेदन बुझेपछि प्रधानमन्त्री कार्कीले अध्ययन गरेर मन्त्रिपरिषद्मार्फत आवश्यक प्रक्रिया अघि बढाउने बताएकी छन् ।
आइतबार प्रधानमन्त्री निवासमा आयोगको प्रतिवेदन बुझेपछि बोल्दै प्रधानमन्त्री कार्कीले आयोगको प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने समयसम्म वर्तमान सरकार नरहने भएकाले आगामी सरकारले आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने विश्वास व्यक्ति गरेकी हुन् ।
‘यसको कार्यान्वयनको समयसम्म हामी रहँदैनौँ । किनभने हामीले तुरुन्तै नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरेर जानुपर्ने भएको छ ।’ उनले भनिन्, ‘पछि सरकारले यसको अध्ययन गरेर कार्यान्वयन गर्नेछ भन्ने मलाई विश्वास छ ।’
साथै उनले मन्त्रिपरिषद्बाट पेश भएपछि प्रतिवेदनको निचोड सार्वजनिक गरिने उनले बताइन् । ‘यसलाई हामीले पनि अध्ययन गछौँ, म र गृहमन्त्रीले । सबै मन्त्रीज्यूसँग राखेर मन्त्रिपरिषद्बाट पारित गराउँछौँ ।’ उनले भनिन्, ‘पारित भइसकेपछि प्रतिवेदन सार्वजनिक गर्नेतिर जान्छौँ । सिंगै प्रतिवेदन सार्वजनिक गर्ने भन्दा पनि नाचोड सार्वजनिक हुन्छ ।’
त्यस्तै प्रतिवेदन बुझाएपछि आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले प्रमाणका आधारमा सरकारलाई रायसुझाव दिएको र अव बाँकी काम सरकारले अघि बढाउने बताउनुभयो । जेनजी आन्दोलनका क्रममा दोषि देखिएलाई कारवाहीको सिफारिस गरिएको उनले बताए ।
सरकारले असोज पाँच गते जेनजी आन्दोलनमा जनधनको क्षति भएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।


























































