हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले इस्लाम धर्मावलम्बीहरूको महान् चाड ईद ९ईद उल फित्र० पर्व, २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री बानियाँले जारी गरेको शुभकामना सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषताले भरिएको देश भएको उल्लेख गरेका छन् । उनले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालीहरूको साझा पहिचान भएको बताएका छन् ।
सन्देशमा बानियाँले प्रत्येक जातजाति तथा धर्मावलम्बी समुदायका आ–आफ्नै मौलिक परम्परा र सांस्कृतिक महत्व रहेको उल्लेख गरेका छन् । यस्ता पर्व तथा चाडपर्वले समुदायलाई एकताबद्ध बनाउन सहयोग गर्ने उनले बताएका छन् ।
विभिन्न धर्म, भाषा र संस्कृतिका समुदायहरूको मौलिक परम्परा, संरक्षण तथा संवर्द्धनमा बागमती प्रदेश सरकार सधैं अभिभावकत्वको भूमिकामा प्रतिबद्ध रहेको उनले जनाएका छन् ।
मुख्यमन्त्री बानियाँले पवित्र रमजान महिनापछि मनाइने ईद–उल–फित्र पर्वले आपसी सद्भाव, समझदारी, एकता र सामाजिक सहिष्णुता थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । साथै, यस पर्वले समृद्ध, शान्त र समुन्नत बागमती प्रदेश निर्माणतर्फ प्रेरणा दिने उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा उनले ईद पर्वले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन तथा समाजवादको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण नेपालीलाई एकताबद्ध भएर अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छ ।
























































