ललितपुर – डाँका चोरी मुद्दामा लामो समय कैद भुक्तान गरी छुटेका एक अभियुक्त पुनः चोरीमा संलग्न भएको खुलेको छ। ललितपुरको महालक्ष्मी नगरपालिका–६, सिद्धिपुरस्थित एक घरबाट सुनचाँदी चोरी गरेको आरोपमा प्रहरीले चोरीका गरगहना सहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८२ चैत ३ गते कृष्णप्रसाद श्रेष्ठको घरबाट सुनचाँदी चोरी भएको घटनाको अनुसन्धानका क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो।
सोही क्रममा प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा निम्न दुई जनालाई चोरी भएका गरगहना सहित पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरू
दोलखा, भीमेश्वर नगरपालिका–२ नागदह घर भई हाल काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–९ भिएस प्लानिङ बस्ने ३२ वर्षीय सजनकुमार श्रेष्ठ
सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–४ घर भई हाल काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३२ वर्षीय प्रेम लामा
प्रहरीका अनुसार पक्राउ परेका प्रेम लामा यसअघि पटक–पटक गरी ११ वर्ष कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन्। उनी कैद भुक्तान गरी छुट्नेबित्तिकै पुनः चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन्।
दुवै जनालाई प्रहरी वृत्त सातदोबाटोमा राखी चोरी मुद्दा दर्ता गरिएको छ। साथै, सम्मानित अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























































