काठमाडौँ – नेकपा मसालले प्रतिनिधिसभाको निर्वाचनपछि नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न उठेको जनाएको छ ।


ADVERTISEMENT


हालैसम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकबारे जानकारी दिन आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले कम्युनिष्ट नेताहरुको आचरणका कारण जनतामा निराशा र असन्तोष पैदा भएको निर्वाचनबाट पुष्टि भएकाले नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न उठेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


कम्युनिस्टहरूले सही राजनीतिक दर्शन अनुसार काम गर्न नसकेकाले कम्युनिस्टको मूलधार भनिनेहरुको पतन भएको उनको भनाइ छ । उनले अहिले नेपालमा आफुलाई मुलधार भनिनेहरु वास्तविक कम्युनिष्ट नभएको समेत तर्क गरे । त्यस्तै महामन्त्री सिंहले राजनीतिमा उमेरले कुनै अर्थ नराख्ने समेत बताए । उमेर भन्दा पनि सहि दृष्टिकोण महत्वपूर्ण हुने उनको भनाइ छ ।

उनले युवा नेताका रुपमा परिचित रास्वपा सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा अर्बौं घोटाला गरेको आरोप समेत लगाए ।

त्यस्तै नेकपा मसालले भदौ २३ र २४ गते भएको युवाहरुको आन्दोलन जायज मागका लागि भएपनि स्पष्ट नेतृत्व हुन नसक्दा अवसरवादीहरुले त्यसलाई गलत रुपमा प्रयोग गरेको जनाएको छ ।

मसालले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर चुनौतीका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनता, पारदर्शिता र जनताको हितअनुसार राजनीति सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ भने हिंसात्मक घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र बाह्य प्रभावबाट मुक्त राष्ट्रिय नीति अवलम्बन गर्न सबै पक्ष एकतावद्द हुनुपर्नेमा जोड दिएको छ ।