ललितपुर – बज्रबाराही चापागाउँ अस्पताल, चापागाउँ ललितपुरमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत बागमती प्रदेशभित्रका ३० वर्षभन्दा माथिका नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालनमा आएको छ।


ADVERTISEMENT


अस्पतालले हरेक मंगलबार बिहान ७ बजेदेखि १० बजेसम्म स्वास्थ्य परीक्षण गरिने जानकारी दिँदै सेवा लिन इच्छुक सबैलाई उपस्थित हुन आग्रह गरेको छ।


ADVERTISEMENT

# # #


अस्पतालका अनुसार यो कार्यक्रममार्फत सर्वसाधारण नागरिकलाई समयमै रोग पहिचान, आवश्यक परामर्श तथा प्रारम्भिक उपचारमा पहुँच पुर्‍याउने उद्देश्य राखिएको छ। विशेषगरी नसर्ने रोगहरूको समयमै पहिचान तथा रोकथाममा यो सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

कार्यक्रमअन्तर्गत प्रशिक्षित चिकित्सकद्वारा नसर्ने रोगसम्बन्धी इतिहास लिने, सम्पूर्ण शारीरिक परीक्षण, तौल–उचाइ तथा पेटको मोटाइ मापन, रक्तचाप जाँच, पिसाब परीक्षण, दिसामा सूक्ष्म रगतको परीक्षण (Fecal Occult Blood Test), रगत परीक्षण (CBC), रगतमा चिनीको जाँच (FBS, OGTT-75 gm), मिर्गौला जाँच (Urea, Creatinine), कलेजो जाँच (Bilirubin, ALP, SGPT), लिपिड प्रोफाइल (Cholesterol, TG, LDL, HDL), फोक्सोको जाँच, छातीको एक्स–रे, भिडियो एक्स–रे (U.S.G.), ई.सि.जी., VIA तथा स्तन जाँच र परामर्श सेवा उपलब्ध गराइनेछ।

अस्पतालले स्वास्थ्य परीक्षणका लागि आउने सेवाग्राहीलाई खाली पेटमा आउन, बागमती प्रदेशभित्र बसोबास गरेको खुल्ने कागजात (नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, बसाइँसराइ वा विवाह दर्ता) को प्रतिलिपि अनिवार्य ल्याउन र अग्रिम नाम दर्ता गर्न आग्रह गरेको छ। अस्पतालले हरेक दिन सीमित रूपमा १५ जनाको मात्र परीक्षण गरिने जनाएको छ।

यस्तै, उच्च रक्तचाप, मुटु रोग, मधुमेह, दम, मिर्गौला रोग तथा क्यान्सरजस्ता नसर्ने रोग पहिल्यै पहिचान भई नियमित औषधि सेवन गरिरहेका बिरामीहरूलाई भने यो कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षण नहुने स्पष्ट पारिएको छ।

स्थानीय नागरिकका लागि सहज, सुलभ र निःशुल्क स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै प्रदेश सरकारको यो पहलले जनस्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।