काठमाडौं – नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीको रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ ।
अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका हुन् ।
गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि विरोधपत्र बुझाउने निर्णय गरेको थियो ।
ललितपुर र काठमाडौँमा नारा जुलुससहित प्रशासन कार्यालय पुगेर एमालेले विरोधपत्र बुझाएको थियो । सो क्रममा एमालेका नेता कार्यकर्ताले प्रशासन कार्यालय बाहिर धर्ना समेत दिएका थिए ।
शनिबार अध्यक्ष ओली पक्राउ परेलगत्तै एमाले कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । शनिबारको प्रदर्शनको क्रममा माइतीघर–बिजुलीबजार खण्डमा तोडफोड र आगजनीका घटना भएका थिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रदर्शनको क्रममा ‘केही हर्कत’ भएको भन्दै त्यसमा संलग्नलाई सोही अनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताए । ‘तिनीहरुको हकमा कानुनी कारबाही अघि बढ्छ । कानुनको सीमाबाट हामी सबै बाँधिएका छौं,’ उनले भने ।


























































