काठमाडौं – नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठकले पार्टीको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसंग नभएको जम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारी रहेको वक्तव्य जारी गर्ने काम भएको भन्दै लेटरहेड दुरुपयोग गरे कारवाही गर्ने चेतावनी दिएको हो ।
अव उप्रान्त लेटरहेड दुरुपयोग गर्ने काम भए कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि वढाउने निर्णय भएको कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।
त्यस्तै बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लघंन गरिएको भनी प्राप्त ५ सय ७ उजुरीलाई वर्गीकरण गरी अविलम्व टुंगोमा पु¥याउने निर्णय गरेको छ भने छानविनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरुबाट ७ दिनभित्र स्पष्टिकरण माग गर्ने निर्णय भएको संयोजक गुरुङले बताए ।
बैठकले प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र पठाउन निर्देशन जारी गरेको छ । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारवाही नहुने अनुशासन समितिले जनाएको छ ।


























































