हेटौंडा — ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बागमती प्रदेशस्तरीय मूल समारोह समिति द्वारा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सहकारी अभियानलाई समुदायमा आधारित आर्थिक सशक्तीकरणको महत्वपूर्ण माध्यम भएको बताए। उनले देशभर छरिएर रहेका साना पूँजी र गाउँबस्तीलाई सहकारीमार्फत एकीकृत गरी सामूहिक विकास सम्भव भएको उल्लेख गरे।
उनले केही सहकारी संस्थाहरूले व्यक्तिगत स्वार्थका लागि दुरुपयोग भएकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए। “सहकारीको मूल उद्देश्य सामूहिक हित हो, व्यक्तिगत फाइदाका लागि यसको प्रयोग हुनु गलत हो,” उनले भने।
मुख्यमन्त्री बानियाँले सहकारीमा बचत गर्ने सर्वसाधारणको सम्पत्तिको सुरक्षा राज्यको जिम्मेवारी भएको स्पष्ट पार्दै दुरुपयोग भएको रकम फिर्ता गराउन सरकार प्रतिबद्ध रहेको बताए। “गरिब नागरिकको बचतको असुरक्षा हुन दिन्नौं, जसले दुरुपयोग गरेको छ, त्यसलाई कानुनी दायरामा ल्याइनेछ,” उनले जोड दिए।
कृषि क्षेत्रसँग सहकारीको सहकार्यलाई थप मजबुत बनाउनेतर्फ प्रदेश सरकार सकारात्मक रहेको उनले बताए। मौरीपालन, भैसी पालन, कुखुरा पालन, तरकारी खेती लगायतका उत्पादनमूलक क्षेत्रमा सहकारीमार्फत लगानी र सहकार्य गर्न सरकार तयार रहेको उनको भनाइ थियो।
कार्यक्रममा सहकारीकर्मी, सरकारी अधिकारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


























































