हेटौँडा — मकवानपुरको बकैया गाउँपालिका–१० स्थित श्री प्रसिद्ध माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई बागमती प्रदेशका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ ले सम्बोधन गर्नुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले शिक्षा नै समाज रूपान्तरणको आधार भएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयले ५० वर्षको यात्रामा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षा, सीपमूलक कार्यक्रम र आधुनिक प्रविधिसँग जोडिएको शिक्षामा जोड दिनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “शिक्षा केवल प्रमाणपत्रका लागि होइन, जीवन निर्माणका लागि हो। विद्यालयले अबको पुस्तालाई प्रतिस्पर्धी, नैतिक र आत्मनिर्भर बनाउनुपर्ने जिम्मेवारी अझ बढेको छ।” साथै, प्रदेश सरकार शिक्षाको गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास र शिक्षक क्षमता अभिवृद्धिका लागि प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, सम्मान तथा स्मरण कार्यक्रमहरू पनि आयोजना गरेको थियो।
विद्यालय व्यवस्थापन समितिले स्वर्ण जयन्तीलाई शिक्षा सुधार र सामुदायिक एकताको अवसरका रूपमा लिँदै आगामी योजनाहरू सार्वजनिक गरेको जनाएको छ।























































