काठमाडौं – स्वरोजगार बन्न र रोजगारी सिर्जनाका लागि सहकार्यमा आधारित साझेदारी कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरेको छ ।
कोषका कार्यकारी उपाध्यक्ष अनिलराज पौडेल, महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर र सामाजिक समितिका संयोजक रामकुमार के. सी. को रोहवरमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र कोषका प्रशासन शाखा प्रमुख सुदप सिल्वालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
‘सम्मानयुक्त उद्यम, स्वरोजगार र रोजगारी सिर्जनाका लागि हामीले सहुलियत ऋणमार्फत उद्यम विकास गर्न प्रयत्न थालेका हौँ’, कार्यवाहक मेयर डंगोलले भनिन्, ‘यस कार्यक्रमका असल ऋणीलाई ६० प्रतिशत व्याज अनुदान हुनेछ । सुरूमा लिँदा ८ प्रतिशत व्याज हुनेछ । तोकिएको मापदण्ड अनुसार नियमित रकम फिर्ता गर्नेलाई अन्त्यमा ६० प्रतिशत अर्थात् ४.८ प्रतिशत व्याज अनुदानका रुपमा फिर्ता हुनेछ । यसरी ऋणीका लागि व्याज ३.२ प्रतिशत मात्र हुनेछ ।’
यस कार्यक्रमबाट उद्यममा आधारित एक वडा एक नमूना कार्यक्रम, महिला समूहसहितका उद्यम गर्न बीउ पूँजी नहुनेका लागि बीउ पूँजी प्राप्त गर्ने अवसर हुने उनले बताइन् ।
सामाजिक समितिका संयोजक रामकुमार केसीका अनुसार अब उद्यम विकास तालिम लिएकालाई स्वरोजमूलक क्षेत्रमा लगानी जुटाउन सहयोग गरिनेछ ।
यो सहकार्यमा आधारित साझेदारी कार्यक्रम हो । यसका लागि दुवै पक्षले २/२ करोड राखेर छुट्टै कोष स्थापना गरिनेछ । कोषमा भएको रकम वित्तीय संस्था तथा सहकारी संस्थामार्फत काठमाडौं महानगरपालिका क्षेत्रका बासिन्दालाई कर्जा दिइनेछ । जम्मा भएको रकम महानगरपालिकालाई कोषले ५ वर्षपछि फिर्ता गर्नेछ ।
सम्झौता बमोजिम व्यवसायीलाई कर्जा लगानी गर्न कोषले बैंक, वित्तीय संस्था तथा सहकारी संस्थालाई कर्जा प्रस्तावका लागि सूचना प्रकाशन गर्नुपर्छ । यस प्रक्रियाबाट छानिएका सहकारी संस्थाहरुलाई बढीमा १ करोड रूपैयाँसम्म थोक कर्जा स्वीकृत हुने कोषको कानुनी व्यवस्था छ । बैक तथा वित्तीय संस्थाहरुलाई बढीमा ५ करोड रूपैयाँसम्म थोक कर्जा दिइनेछ ।
कोषबाट बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाको खातामा निकासा भएको मितिले बढीमा दुई हप्ताभित्र स्वीकृत गरिएका ऋणीहरुलाई कर्जा लगानी गरी सक्नुपर्नेछ ।विपन्न, महिला, दलित, आदिवासी जनजाति, लैङिगक तथा यौनिक अल्पसङ्ख्यकलाई प्राथमिकतामा राखिएको छ । विदेशबाट फर्केका व्यक्ति वा तालिम प्राप्त व्यक्तिलाई कर्जा लगानी हुनेछ । व्यक्तिका लागि सहुलियत ब्याज दरमा प्रति व्यक्ति अधिकतम ५ लाख र समूहगत लगानी गर्नका लागि बढीमा १५ जनाको समूहमा ५० लाख रूपैयाँसम्म लगानी हुनेछ ।
स्वरोजगार बन्न ऋण लिने असल ऋणकर्तालाई तिरेको व्याजको ६० प्रतिशत फिर्ता गरिने यो कर्जा लगानी आर्थिक रुपले विपन्न, महिला, दलित, आदिवासी जनजाति, लैङिगक तथा यौनिक अल्पसङ्ख्यकका लागि हो । विदेशवाट फर्केका व्यक्ति वा तालिम प्राप्त व्यक्तिहरुलाई कर्जा लगानी हुनेछ । व्यक्तिका लागि सहुलियत ब्याज दरमा प्रति व्यक्ति अधिकतम ५ लाख रुपियाँ र समूहगत लगानी गर्नका लागि बढीमा १५ जनाको समूहमा ५० लाख रुपियाँसम्म लगानी हुनेछ ।


























































