काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एकल महिला, विपन्न तथा सीमान्तकृत समुदायका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेश सरकारले सीप, प्रविधि र पूँजीलाई एकैसाथ जोड्ने विशेष कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। उनले महिलालाई केवल सहयोगको पात्रका रूपमा नभई उत्पादन, उद्यम र आर्थिक विकासका साझेदारका रूपमा स्थापित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
एक कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले नीति तथा कार्यक्रममै महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको उल्लेख गरेका छन्। “अचार उत्पादनदेखि लिएर मौरीपालन, बाख्रापालन, भैँसीपालन, तरकारी खेती, तुना–टपरी निर्माण तथा अन्य घरेलु तथा साना उद्योग सञ्चालन गर्न चाहने दिदीबहिनीहरूलाई सीप तालिम, प्रविधि हस्तान्तरण र बिउ पूँजीको व्यवस्था गरिनेछ,” उनले भने।
उनका अनुसार महिलाहरूले समूहगत वा व्यक्तिगत रूपमा उद्यम सञ्चालन गर्न चाहेमा स्थानीय तहसँग समन्वय गरी सहुलियतपूर्ण ऋण, अनुदान तथा प्रारम्भिक पूँजी उपलब्ध गराइनेछ। व्यवसाय सुरु गर्न आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यले ब्याजमा समेत विशेष छुट र अनुदानको व्यवस्था गरिने उनले बताएका छन्।
मुख्यमन्त्री बानियाँले एकल महिला, गरिब, विपन्न, छेपाङ, भोटे तथा अन्य सीमान्तकृत समुदायका महिलालाई लक्षित गरी विशेष कार्यक्रम ल्याइने जानकारी दिएका छन्। “हामीले कसैलाई पछाडि पार्ने होइन, बरु पछाडि परेकालाई अघि ल्याउने नीति लिएका छौँ। राज्यको पहुँच र अवसर सबैभन्दा पहिले आवश्यकतामा रहेका समुदायसम्म पुग्नुपर्छ,” उनको भनाई छ।
उनले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न नसक्ने अवस्था अन्त्य गर्न प्रदेश सरकारले विशेष योजना अघि सारेको जानकारी दिएका छन्। “कुनै एकल महिलाले अथक संघर्ष गरेर आफ्ना छोराछोरीलाई पढायो, उनीहरूले डाक्टर वा इन्जिनियर बन्ने योग्यता पनि हासिल गरे, तर शुल्क तिर्न नसक्ने अवस्था आयो भने प्रदेश सरकार अभिभावक बनेर साथ दिन्छ,” उनले बताएका छन्।
मुख्यमन्त्री बानियाँले मेडिकल, इन्जिनियरिङ तथा अन्य प्राविधिक विषय अध्ययन गर्न चाहने तर आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीका लागि छात्रवृत्ति तथा आर्थिक सहयोगको व्यवस्था बजेटमार्फत गरिने उल्लेख गरेका छन्। “प्रतिभा पैसाको अभावमा रोकिनु हुँदैन। अवसरको अभावले कुनै विद्यार्थीको सपना अधुरो रहन दिनु हुँदैन,” उनले भनेका छन्।
उनले संघर्षशील महिलाहरूको सम्मान गर्दै उनीहरूको जीवनस्तर उकास्ने कार्यक्रमलाई आगामी बजेटको प्राथमिकतामा राखिएको बताएका छन्। एकल महिलाले भोगेका दुःख, संघर्ष र जिम्मेवारीलाई राज्यले नजिकबाट बुझेको उल्लेख गर्दै उनले उनीहरूलाई आत्मनिर्भर र सम्मानित जीवन जिउन सक्ने वातावरण निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
वातावरण संरक्षण र आयआर्जनलाई सँगसँगै अघि बढाउने नीति पनि प्रदेश सरकारले लिएको मुख्यमन्त्री बानियाँले बताए। प्लास्टिकजन्य सामग्रीको विकल्पका रूपमा साल, सुपारी तथा नरिवलका पातबाट बन्ने वातावरणमैत्री सामग्री उत्पादन, कृषि तथा पशुपालन व्यवसाय विस्तार र स्थानीय स्रोतमा आधारित उद्यम विकासलाई प्रोत्साहन गरिने उनले बताएका छन् ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशका १३ वटै जिल्लाका महिलालाई उत्पादन, उद्यम र रोजगारीसँग जोड्दै आत्मनिर्भर बनाउने लक्ष्यका साथ आगामी बजेट तथा कार्यक्रम केन्द्रित हुने उल्लेख गर्दै सामाजिक न्याय, महिला सशक्तीकरण र समावेशी विकासलाई प्रदेश सरकारको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने बताएका छन् ।


























































