काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सुशासन, जनउत्तरदायित्व र निष्पक्ष न्याय सम्पादन राज्य सञ्चालनका प्रमुख आधार भएको बताएका छन्। एक कार्यक्रममा सम्बोधन गर्दै उनले जनताप्रति विश्वास र भरोसा कायम राख्ने गरी काम गर्न कर्मचारी तथा जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
मुख्यमन्त्री बानियाँले जनताले छिटो, सरल र प्रभावकारी सेवा पाउनुपर्ने उल्लेख गर्दै निर्णय प्रक्रियामा जिम्मेवारी र जवाफदेहिताको भावना आवश्यक रहेको बताएका छन्। उनले स्थानीय तहमा देखिने विभिन्न प्रकृतिका विवादहरू सकेसम्म संवाद र सहमतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार जग्गा, सिमाना तथा अन्य विषयमा उत्पन्न हुने विवादमा दुवै पक्षको कुरा निष्पक्ष रूपमा सुनेर समाधान खोज्नु न्यायको सर्वोत्तम अभ्यास हो। संवादबाट समाधान सम्भव नभए मात्र कानुन, प्रमाण र स्थापित नजिरका आधारमा निष्पक्ष निर्णय दिनुपर्ने उनले बताएका छन्।
मुख्यमन्त्री बानियाँले न्याय सम्पादनका क्रममा कुनै पक्षप्रति पूर्वाग्रह नराखी कानुन, विवेक र नैतिक जिम्मेवारीका आधारमा काम गर्नुपर्ने धारणा राखेका छन्। उनले विशेषगरी कमजोर, निमुखा, सर्वसाधारण तथा न्यायको पहुँचबाट टाढा रहेका नागरिकको अधिकार संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
पार्टीभन्दा माथि समाज र जनताको हित हुन्छ भन्दै उनले राज्यका निकायहरूले नागरिकको विश्वास जित्ने गरी सेवा दिनुपर्ने उल्लेख गरेका छन्। न्यायपूर्ण निर्णय र इमान्दार सेवाले नै समाजमा सुशासन स्थापित हुने उनको भनाइ छ।
कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले तालिम तथा सिकाइबाट प्राप्त ज्ञानले आगामी दिनमा जिम्मेवारी बहन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले सबैलाई जनसेवा र न्याय सम्पादनमा समर्पित भएर काम गर्न आग्रह गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका छन्।


























































