ललितपुर- महालक्ष्मी नगरपालिकाले वडा नम्बर ७ का लागि विनियोजन गरेको बजेटबाट चाँगाथलीको धारापाटी–चपनीफाँट हुँदै भक्तपुरको सूर्यविनायक नगरपालिका–१ जोड्ने सडक स्तरोन्नति गरेको छ।
नगरपालिकाबाट छुट्याइएको रु १ करोड २२ लाख बजेटमा सडक क्षेत्रमा ढल तथा खानेपानीका पाइप बिछ्याएर करिब एक किलोमिटर सडक कालोपत्रे तथा थप ५०० मिटर सडक ढलान गरिएको हो। २० फिट चौडाइको नमुना सडक निर्माण भएपछि स्थानीयवासीको आवागमन सहज हुनुका साथै दुई जिल्लाबीचको पहुँचसमेत थप सुदृढ बनेको छ।
उक्त सडकले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ र भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ लाई प्रत्यक्ष रूपमा जोड्ने भएकाले स्थानीय आवागमन, व्यापारिक गतिविधि तथा सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
महालक्ष्मी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बाबुराजा महर्जनले हिमालय पोस्टलाई जानकारी दिँदै नगरपालिकाले वडाका लागि विनियोजन गरेको बजेटबाट सडक, ढल र खानेपानी पूर्वाधारसहितको योजना सम्पन्न गरिएको बताएका छन्।
उनले यस्ता विकास आयोजनाले स्थानीय बासिन्दाको जीवनस्तर सुधार गर्न र क्षेत्रको समग्र विकासलाई गति दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।


























































