काठमाडौं – टाटा मोटर्सका नयाँ विद्युतीय सवारीसाधन पञ्च ईभी र टियागो ईभी नेपालमा सार्वजनिक भएका छन्। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर यी दुई विद्युतीय गाडी सार्वजनिक गरेको हो।
नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले विशेष योजनाअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै पञ्च ईभी खरिद गर्न सक्नेछन्।
त्यस्तै, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक्स्पोमा यी दुवै गाडी बुकिङ गर्ने ग्राहकले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी पाउने कम्पनीले जनाएको छ।
गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो। नयाँ पञ्च ईभी र टियागो ईभीको सार्वजनिकले कम्पनीको विद्युतीय सवारीसाधनप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको उहाँको भनाइ थियो।
दुवै गाडी फरक–फरक ग्राहकका आवश्यकता पूरा गर्ने गरी विकास गरिएको कम्पनीले जनाएको छ।
सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीका अनुसार कम्पनीले विद्युतीय गाडी बिक्रीसँगै आवश्यक सेवा तथा पूर्वाधार विस्तारमा समेत जोड दिँदै आएको छ। हाल सिप्रदीको २१ भन्दा बढी विद्युतीय सवारीसाधन सेवा केन्द्र, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा रहेका छन्।
नयाँ पञ्च ईभी : शक्तिशाली र प्रविधियुक्त एसयूभी
अत्याधुनिक एक्ट.इभी प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ किलोवाट–घण्टा र ४० किलोवाट–घण्टा क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। नेपालका सडकमा गरिएको परीक्षणअनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले ३०० देखि ३२५ किलोमिटरसम्मको यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।
पञ्च ईभीमा १९५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स, बीएनसीएपीको ५–स्टार सुरक्षा मूल्यांकन, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सीडीसी फास्ट चार्जिङ, आवाजबाट सञ्चालन गर्न सकिने सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट प्रणाली तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटर क्षमताको बुट स्पेस उपलब्ध छन्।
नयाँ टियागो ईभी : सुरक्षित र आधुनिक ह्याचब्याक
दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन, आकर्षक रङ विकल्प तथा आधुनिक प्रविधि समावेश गरिएको छ।
गाडीमा ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्याग लगायतका सुरक्षा तथा सुविधा उपलब्ध छन्।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा टाटाको स्टलमा पुगेर ग्राहकले पञ्च ईभी र टियागो ईभीको प्रत्यक्ष अवलोकन गर्नुका साथै विशेष योजनाअन्तर्गत बुकिङ गर्न सक्नेछन्।



























































