काठमाडौं- नेपाल अटोमोबाइल्स एसोसिएसन नाडाको प्रतिनिधिमण्डलले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालसँग भेट गरी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत तथा व्यावहारिक विषयमा विस्तृत छलफल गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अटोमोबाइल व्यवसायीले भोगिरहेका समस्या, आयात तथा दर्ता प्रक्रियामा देखिएका जटिलता, कर नीतिलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।+
भेटका क्रममा मन्त्री लम्सालले नाडाबाट प्रस्तुत गरिएका सुझावप्रति सरकार सकारात्मक रहेको बताउँदै आवश्यक कानुनी तथा नीतिगत सुधारमार्फत सहज वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन दिएका छन्।
छलफलमा नाडाले व्यवसायिक प्रयोजनका सवारीसाधनको दर्ता रोकिएको विषय समाधान गर्न, एलसी खोलिसकेका तथा नेपाल भित्रिइसकेका सवारीसाधनको दर्ता प्रक्रिया तत्काल खुलाउन माग गरेको थियो। यस्तै, चालु आर्थिक वर्षको बजेटमार्फत हेभी इक्विपमेन्ट तथा मेसिनरीमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने व्यवस्था पुनर्विचार गर्नुपर्ने धारणा पनि नाडाले राखेको छ।
प्रतिनिधिमण्डलले भन्सार विभाग र यातायात व्यवस्था विभागबीच डिजिटल एकीकरण गरी आयातित सवारीसाधनको विवरण स्वचालित रूपमा आदान–प्रदान गर्ने व्यवस्था लागू गर्नुपर्ने आवश्यकता औंल्याएको थियो।
साथै, भन्सार र यातायात प्रणाली एकीकृत भएपछि डिलरको नाममा सवारी दर्ता गर्नुपर्ने बाध्यता हटाउन तथा सरकारी पोर्टलबाट जारी हुने अस्थायी ‘सेल्फ–डिक्लेरेशन’ नम्बर प्रयोग गरी सवारी सञ्चालन तथा स्थानान्तरण गर्न सकिने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएको छ।
नाडाले डेटा सेयरिङ र डिजिटल भेरिफिकेसन प्रक्रियासम्बन्धी स्पष्ट कार्यविधि तयार गर्न, नयाँ मोटर वाहन तथा यातायात व्यवस्थापन ऐनको कार्यान्वयन समयसीमा स्पष्ट गर्न तथा उक्त प्रक्रियामा नाडाको सहभागिता सुनिश्चित गर्न पनि आग्रह गरेको छ। त्यस्तै, सवारी आयात नीतिको प्रभावकारी कार्यान्वयन, उद्योग–व्यवसायले भोगिरहेका व्यावहारिक समस्याको समाधान, प्रस्तावित यातायात प्राधिकरणमा नाडाको प्रतिनिधित्व तथा सवारी बिक्रीपश्चात् मात्र सवारी कर लाग्ने व्यवस्था गर्नुपर्ने विषय पनि छलफलमा उठाइएको छ।
छलफलमा उद्योग सचिव कृष्णबहादुर राउत, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी तथा यातायात व्यवस्था विभागका महानिर्देशक रोशन ज्ञवालीको उपस्थिति रहेको थियो।
नाडाका वरिष्ठ सल्लाहकार राजनबाबु श्रेष्ठ, महासचिव मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्य नवराज भुसाल, व्यवसायिक सवारी साधन समितिका सभापति विमल साह तथा वातावरण समितिका सभापति पहेज पाललगायतले पनि अटोमोबाइल क्षेत्रका विविध विषयमा आफ्ना धारणा राखेका छन्।



























































