काठमाडौं -१२औँ अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयको आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा विश्वविद्यालय परिसरमा विशेष योग सत्र सम्पन्न भएको छ।
आगामी जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवसलाई लक्षित गर्दै आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. खड्गबहादुर बज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा योगप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक योग अभ्यास गर्दै योगले प्रवर्द्धन गर्ने स्वास्थ्य, सद्भाव र समग्र कल्याणको सन्देशलाई आत्मसात गरेका छन्।
आयोजकका अनुसार योग दिवसको अवसरमा विभिन्न सचेतनामूलक तथा सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। योगले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ।



























































