काठमाडौं– सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभा बैठकमा बुधबार आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री तिमिल्सिनाले स्वतन्त्रतामाथि निरन्तर हस्तक्षेप भएको भन्ने सांसदहरुको प्रश्नमा सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको जवाफ दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सरकार प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलापलाई सहन तयार नरहेको र कसैले प्रेस स्वतन्त्रतामाथि कुनै कदम उठाएको भए सरकार त्यसका विरुद्ध काम गर्न तयार रहेको प्रतिबद्धता समेतच जनाएका छन् । आमसञ्चार क्षेत्रलाई मर्यादित, जवाफदेही र विश्वसनीय बनाउन नीतिगत तथा कानुनी सुधारका लागि ऐन कानुनमा समसामयिक संशोधन गर्न तथा नयाँ कानून तर्जुमा गर्ने काम सुरु भइरहेको उनले बताएका छन्।

निजी सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरूको हक अधिकारको विषयमा आन्दोलनमा रहेको बिषयमा मन्त्री तिमिल्सिनाले सूचना तथा प्रसारण विभागमा यससम्बन्धी समस्या समाधानको लागि कार्य भइरहेको र बाँकी विषयहरूमा गम्भीरतासहित मन्त्रालय अघि बढेको जानकारी दिएका छन्। उनले मोबाइल नेटवर्कको गुणस्तर मूल्यांकन गरी सुधारका लागि नियमित रूपमा नेटवर्क अनुगमन, ड्राइभ टेस्ट र नेटवर्क अप्टिमाइजेसन जस्ता कार्य सञ्चालन गर्दै आइरहेको बताएका छन्।

मन्त्री तिमिल्सिनाले ग्राहकका गुनासोका आधारमा समस्याको विश्लेषण गरी आवश्यक सुधारात्मक कार्यहरू कार्यान्वयन गर्दै सेवाको गुणस्तर अभिवृद्धि गर्ने काम समेत भएको उल्लेख गरेका छन्। साइबर सुरक्षा, डेटा अर्थतन्त्र, डिजिटल पूर्वाधार आर्थिक अर्थतन्त्रका मेरुदण्ड भएकोले प्रयाप्त बजेट छुट्याइएको उनको भनाई छ ।