काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–२ स्थित राखु भगवती स्वास्थ्य चौकी लाई आवश्यक स्वास्थ्य सामग्री तथा स्वच्छ खानेपानी व्यवस्थापनका लागि पाइप सहयोग गरेको छ।


ADVERTISEMENT


बैंकको बेनी शाखामार्फत प्रदान गरिएको सहयोगअन्तर्गत स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानी आपूर्तिका लागि आवश्यक एचडीपीई पाइप हस्तान्तरण गरिएको बैंकले जनाएको छ।


ADVERTISEMENT

# # #


राखु भगवती स्वास्थ्य चौकीले वडा नम्बर १ र २ का करिब ४ हजार ३०० भन्दा बढी स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। साथै, स्वास्थ्य चौकीमा सञ्चालन भइरहेको २४ घण्टे प्रसूति सेवा केन्द्रमार्फत ग्रामीण क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाले सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन्।

स्थानीय समुदाय, विशेषगरी विपन्न तथा सीमान्तकृत परिवारको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ। यस सहयोगबाट स्वास्थ्य संस्थाको भौतिक तथा सेवा पूर्वाधार सुदृढ भई मातृ तथा शिशु स्वास्थ्य सेवासहित समग्र स्वास्थ्य सेवाको गुणस्तरमा सकारात्मक सुधार आउने विश्वास व्यक्त गरिएको छ।

बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।

सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवामा समेत नवीनता ल्याउँदै विभिन्न सेवा विस्तार गरिरहेको छ। हाल बैंकले देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।